चितवनमै सफल भयो जन्मदै मुटुमा समस्या भएका चेपाङ शिशुको जटिल शल्यक्रिया
MEDICAL NEWS Feb 28, 2023
    Like/Share :

चितवनमै सफल भयो जन्मदै मुटुमा समस्या भएका चेपाङ शिशुको जटिल शल्यक्रिया

चितवनमै सफल भयो जन्मदै मुटुमा समस्या भएका चेपाङ शिशुको जटिल शल्यक्रिया

चितवनमै सफल भयो जन्मदै मुटुमा समस्या भएका चेपाङ शिशुको जटिल शल्यक्रिया
मुटुको नि: शुल्क उपचार सुविधा काठमाडौंका अस्पतालमामात्रै हुँदा बिरामीलाई समस्या
चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा एक महिने शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ।

भरतपुर महानगरपालिका–१ ठिमुरा बस्ने मिलन प्रजा (चेपाङ) र सविता प्रजा (चेपाङ) की ३५ दिनकी छोरी महिमाको मुटुको शल्यक्रिया गरिएको हो।

उनको डेक्ट्रो ट्रान्सपोजिसन्स अफ ग्रेट आर्टरिज (डिटिजिए) अर्थात मुटुबाट निस्कने मुख्य नलीहरु उल्टो अवस्थामा थिए। यो शिशुमा जन्मजात हुने समस्या हो। यो समस्याले गर्दा शिशु जन्मदा र केही समयपछि श्वास फेर्न गाह्रो हुने समस्या भएको थियो।

अस्पतालका मुटु, छाती र रक्तनली (सिटिभिएस) सर्जन डा.अनिल आचार्यले नेपालमा निकै जटिल मानिने ‘आर्टेरियल स्वीच अप्रेशन’ गरेर उनलाई निको पारिएको बताए।

‘यो समस्या शिशुले जन्मँदै लिएर आउँछ। जतिसक्दो छिटो शल्यक्रिया गरिएन भने जोखिम बढ्छ। सामान्यतया दुई हप्ताभित्रमा शल्यक्रिया गर्नुपर्ने हुन्छ,’ डा.आचार्यले सेतोपाटीसँग भने, ‘अस्पताल आइपुग्दा बच्ची ३२ दिनकी थिइन्। हामीले तत्कालै ईको कार्डियोग्राम गरेर उनको समस्या पहिचान गर्‍यौं। ढिलै भए पनि बचाउन सकिने अवस्थामा देखेर अप्रेशन सुरु गरिहाल्यौं।’

उनकाअनुसार यस्तो शल्यक्रिया नेपालमा यसअघि दुई वटा मात्रै सफल भएका छन्। अहिलेसम्म काठमाडौंका गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एक-एक जनाको मात्रै शल्यक्रिया सफल भएको आफूले जानकारी पाएको आचार्यले बताए।

‘नेपालमा यस्तो शल्यक्रियामा मृत्युदर ९० प्रतिशतभन्दा बढी छ,’ डा.आचार्यले सेतोपाटीसँग भने, ‘काठमाडौं बाहिर हामी पहिलो पटक यस्तो शल्यक्रियामा सफल भएका छौं।’

उनकाअनुसार विकसित देशहरुमा ‘फिटल एको कार्डियोग्राम’ गरेर बच्चा गर्भमा छँदैमा उसको मुटुको अवस्था बुझ्ने चलन छ। मुटुमा समस्या भएको पाए जन्मनेबितिक्कै शल्यक्रिया गर्ने गरिन्छ। ‘तर नेपालमा सबैतिर यस्तो सुविधा, विशेषज्ञ नभएका कारण गर्भमा रहँदाको अवस्थामा त्यति चासो दिइँदैन,’ उनले भने, ‘केही समयमा श्वासप्रश्वासमा अप्ठेरो हुने, ओठ, हात, खुट्टालगायत शरीरका अंगहरु निलो भएको देखेपछि बल्ल बच्चा लिएर अस्पताल पुग्ने चलन छ। उपचार सुरु गर्दा ढिलो भइसक्छ।’

पहिले जन्मिएका शिशुको मृत्यु भएको अवस्थामा, जन्मँदै समस्या भएको अवस्थामा, आमामा दीर्घरोग भएको अवस्थामा यो परीक्षण गरेर गर्भको बच्चाको बारेमा धेरै कुरा जान्न सकिने उनले बताए।

    By : Doctor Story Nepal